काँग्रेस महाधिवेशन सर्ने, भदौभित्र पनि हुन नसके वैधानिकता नै समाप्त हुने

२०७७ फाल्गुन ५ गते, बुधबार

फागुन ५, काठमाडौं । नेपाली काँग्रेसको यही फागुन ७ गतेबाट सुरु हुने तय भएको १४औँ महाधिवेशन फेरि सर्ने भएको छ तर अब काँग्रेसको महाधिवेशन आगामी भदौभित्र पनि हुन नसकेमा पार्टीको वैधानिकता नै समाप्त हुनेछ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाको प्रस्ताव छलफलका लागि पेस गरिँदैछ ।

सभापति शेरबहादुर देउवा नेतृत्वले आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर पार्टीको विधानअनुसार एक वर्ष थप गरेको अवधि पनि यही फागुन १९ गते समाप्त हुँदैछ । नेपालको संविधानअनुसार काँग्रेसले अबको छ महिनाभित्र कुनै पनि हालतमा महाधिवेशन गर्नैपर्ने हुन्छ । केन्द्रीय कार्यसमितिमा पेस गरिने प्रस्ताव र महाधिवेशनको अर्को मिति तय गर्नेलगायतका विषयमा सभापति देउवासहितका शीर्ष नेताहरूबीच छलफल पनि भएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टी सचिवालयले तयार पारेको महाधिवेशनको नयाँ कार्यतालिकालाई बुधबारको कार्यसमितिमा पेस गरिने जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal