मन्त्रिपरिषद् बैठक बस्दै, के आउँला निर्णय, अध्यादेश कि संसद बैठक आह्वान ?

२०७७ फाल्गुन १४ गते, शुक्रबार

फागुन १४, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोेलाएका छन। आज साँझ ५ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक डाकिएको हो । साँझ बस्ने बैठकले के निर्णय गर्ला भन्ने उत्सुकता छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेपछि बस्न लागेको बैठकबारे उत्सुकता भएको हो ।
बैठकको जानकारी पाएका एक मन्त्रीले आजको बैठकमा प्रतिनिधि सभा बैठक आह्वानका लागि राष्ट्रपति कार्यालयलाई सिफारिश पठाउनबारे निर्णय हुनसक्ने जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । सर्वोच्च अदालतले मंगलबार ११ गते प्रधानमन्त्रीले गरेको संसद विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको थियो ।
योसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको पाँच सदस्यीय अदालतले १३ दिनभित्र प्रतिनिधि सभाको बैठक आह्वान गर्न निर्देशनात्मक आदेश दिएको थियो । सो आदेशअनुसार आगामी २३ गतेभित्र संसद बैठक आह्वान गर्नुपर्छ ।
अर्कातिर प्रधानमन्त्री ओलीले नेकपाको दल विभाजनसम्बन्धि अध्यादेशबारे पनि बैठकमा छलफल गराउन सक्नुहुने स्रोतले बताएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal