वामदेव गौतमको दौडधुप कहिले खुमलटार त कहिले बालुवाटार

फागुन १४, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमको दौडधुप बढेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई एकता गर्ने भन्दै उनी कहिले खुमलटार त कहिले बालुवाटार दौडिएका छन ।
हिजो खुमलटार दौडिएका गौतम आज नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । गौतम ओलीसँग पार्टी एकताको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको स्रोतको दाबी छ ।
पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । एक समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् ।
प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी दुई समूहमा विभाजन हुँदा कुनै समूहमा नखुली एकता अभियानमा लागेका गौतम सर्वोच्च अदालतले फागुन ११ मा प्रतिनिधि सधा पुनस्स्थापना गरेपछि एकताको पहलमा थप सक्रिय भएका छन् ।
प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा पुनःस्थापनापछि सत्ता समीकरणको प्रयास गर्दै गर्दा गौतमले पार्टी एकतामा जोड दिँदै आएका छन् । उपाध्यक्ष गौतमले हिजो मात्रै प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डलाई खुमलटार पुगी प्रधानमन्त्रीसंग एकता गर्न सुझाएका थिए ।