नेताहरुको ध्यान सर्वोच्चको अर्को फैसलामा, नेकपाको नाम खारेज भए विवाद झन् जटिल

२०७७ फाल्गुन १५ गते, शनिबार

काठमाण्डौ । नयाँ सत्ता समीकरण र पार्टीको आधिकारिताबारे बहस र छलफलमा व्यस्त नेताहरुको ध्यान सर्वोच्च अदालतले गर्न लागेको अर्को फैसलामा मोडिएको छ । सर्वोच्च अदालतले आउँदो बिहीवार नेपाल कम्युनिष्ट पार्टीका संयोजक रहेका ऋषि कट्टेलले दायर गरेको मुद्दामा फैसला गर्न लागेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेर नयाँ पार्टी बनाउँदा आफ्नो दलसँग नाम मिल्ने गरी बनाएको भनेर कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए।

निर्वाचन आयोगमा उजुरी गरे पनि आयोगले खारेज गरेपछि कट्टेलले २०७५ को मंसिर २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले कट्टेलको पक्षमा फैसला गर्यो भने नेकपाको ओली र प्रचण्ड-नेपाल समूहले नाम फेर्ने या अर्को दल दर्ता गर्नुपर्ने अवस्था आउन सक्छ । नेकपाको विवाद पनि नयाँ कोर्समा प्रवेश गर्नेछ । ‘विवाद बिल्कुलै नयाँ दिशामा जानेछ  । त्यसले परिणति कस्तो दिन्छ यसै अनुमान गर्न सकिने अवस्था छैन । नेकपा नामविहीन बन्नेछ । त्यो अवस्थामा फेरि दुई जना अध्यक्ष ओली र दाहालको सहमति चाहिन्छ । यसरी नाम नै खारेजीमा परेको अवस्थामा नेकपाका दुवै पक्ष अझ विशेषगरी दाहाल–नेपाल पक्षलाई बढी समस्या पर्ने देखिन्छ । अर्कोतिर, अहिलेको अवस्थामा निर्णय दिन नसकेको आयोग थप दबाबमा पर्नेछ ।

पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने घोषणा गरेपछि राजनीतिक रुपमा विभाजन भएको नेकपाको दुवै समूहले आफू नै आधिकारिक भएको दाबी गर्दै आएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापना गरिसके पनि निर्वाचन आयोगले नेकपाको विवाद टुङ्ग्याउन सकेको छैन । यस्तो अवस्थामा सर्वोच्चले कट्टेलको पक्षमा फैसला गर्यो भने दुई समूहमा बाँडिएको नेकपाको विवाद झन् जटिल हुने देखिन्छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal