सत्तारुढ नेकपाको विवाद केही दिनभित्रै समाधान गर्छौँ : निर्वाचन आयोग

२०७७ फाल्गुन १६ गते, आईतवार

काठमाण्डौ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने जनाएको छ। यसका लागि सम्बन्धित पक्षसँग औपचारिक र अनौपचारिक छलफल गरिरहेको आयोगले जनाएको छ।

सर्वोच्च अदालतबाट भएको प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयपछि समय चापका हिसाबले निर्णय दिन केही सहजता भए पनि प्राप्त जिम्मेवारीलाई छिट्टै निकास दिन अध्ययन र परामर्श गरिरहेको आयोगको भनाइ छ।

संवैधानिक व्यवस्था, कानुनी प्रावधान, प्राप्त निवेदनलगायतलाई आधार बनाएर आयोगले अध्ययन अन्तिम चरणमा पुर्याएको छ । यसअघि चुनावको प्रयोजनका लागि विभिन्न काम गर्नुपर्ने भएकाले नेकपाभित्रको विवाद समाधान गर्न समस्या भइरहेको र अहिले अवस्था सहज भएकाले केही दिनमै विवादको निचोड निकालिने आयोगको भनाइ छ ।

यसैबीच, नेकपाको विवाद समाधानका लागि आयोगले देखाएको भूमिकाप्रति नेकपाको प्रचण्ड(नेपाल समूहले असन्तुष्टि जनाएको छ । आयोगले संविधान र कानुनसम्मत ढंगले सहज निर्णय नगर्दा अहिले समस्या भइरहेको प्रचण्ड(नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ छ ।

यसअघि आयोगमा प्रचण्ड-नेपाल समूह र ओली समूहले उपलब्ध गराएका दुवै निर्णयलाई वैधानिकता नदिने आयोगले निर्णय गरेको थियो । त्यसपछि फेरि प्रचण्ड(नेपाल समूहले अर्को निर्णय बोकेर आयोग पुगेको थियो ।

प्रचण्ड-नेपाल समूहले आवश्यक परे बहुमत सदस्य नै आयोगमा उपस्थित हुने भन्दै बहुमत सदस्यहरुको नागरिकता र पार्टीको परिचयपत्र सङ्कलन गरेर राखेको छ । ओली समूहले पनि आफूसँग अध्यक्ष, महासचिव, माइन्युट सबै भएकोले आफूहरु नै नेकपाको आधिकारिक समूह भएको दाबी गर्दै आएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal