प्रचण्ड-नेपाललाई प्रधानमन्त्री ओलीको चुनौती : संसदीय दलको बैठक बोलाइदिन्छु, हटाएर देखाउनुस

२०७७ फाल्गुन १७ गते, सोमबार

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसदीय दलको नेताबाट विधिसम्मत रुपमा हटाउन प्रचण्ड– माधव समूहलाई चुनौती दिएका छन् । ‘विधिवत भेटौं, बैठक बोलाइदिन्छु आउनुस् न’ उनले भने । उनले प्रचण्ड–माधव समूहसँग भएको बहुमत पनि आफूले दिएको दावी गरे । आफूले पार्टी एकताका लागि दिएको बहुमत अहिले गलत रुपमा प्रयोग गरेको ओलीले बताए ।
‘त्यो बहुमत त मैले नै दिएको हो । एकताका लागि भनेर, महाधिवेशनबाट छानिएको हो र, चुनाव जितेर आएको कमिटी हो र रु पार्टी एकता र देश बनाउनका लागि दिएको हो’ उनले भने । ओलीले प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्यलाई जरुरी परेका बेला आफूले हटाइदिन पनि सक्ने दावी गरे । ‘नियुक्ति दिनेले नियुक्ति बदर गर्न सक्छ, मैले अस्तिको दिनमा संसदीय दलको मुख्य सचेतकबाट देवप्रसाद गुरुङलाई हटाइदिएँ, मैले बनाएको हो मैले हटाइदिएँ, मैले गर्ने हो ।’

ओलीले प्रचण्ड– माधव समूहको बहुमत पुष्टि नभएको दावी गरे । ‘त्यो बहुमत कहाँ पुष्टि भयो ?त्यो पुष्टि भएको छैन । कार्की ब्याङ्केटमा भोज खान बोलाएर भोज खान आएकाहरुलाई म तिर यति मान्छे छन् भनेर हुन्छ रु अध्यक्षले बोलाएको बैठकमा, महासचिवले बोलाएको बैठकमा आउनुस् न ।’अहिले प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री ‘दिए खान्थेँ’ भन्ने स्थितिमा पुगेको ओलीले बताए । आफूले संसद विघटनपछि देशले निर्वाचनको बटो लिए पनि सर्वोच्चको फैसलाले फेरि देश अप्ठरोमा परेको बताए । ‘चुनावको गतिमा गइसकेको थियो, देश फेरि अन्योल अलमलमै फस्यो’ उनले भने ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि भौतिक आक्रमण हुन सक्ने बताए। देश विकासको बाटोमा तीव्र गतिमा अघि बढेकाले आफूमाथि आक्रमण हुन सक्ने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको रक्षार्थ सरकार उभिँदा हमला भइरहेको बताँए। उनले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्पलाई जसरी पनि प्राप्त गरिछाड्ने दृढता रहेको बताए । देशको भविष्य र पार्टीलाई तलमाथि पार्न दिन नहुने भन्दै ओलीले कार्यकर्तालाई प्रतिगमनविरुद्ध नझुक्न समेत निर्देशन दिए।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal