बंगलादेशसँग किनिएको मल कोलकाता बन्दरगाहमा, सातादिन भित्रै नेपाल आउँदै

२०७७ फाल्गुन १८ गते, मंगलवार

काठमाडौं । नेपाल सरकारले बंगलादेशसँग जीटुजी प्रक्रियामार्फत किनेर ल्याउन लागेको युरिया मल अबको १ सातामा नेपाल आइपुग्दै छ । ५० हजार मेट्रिक टन (मेटन) युरिया मलमध्ये हाल २२ हजार ५ सय मेटन मल कोलकाता बन्दरगाहमा आइपुगेको छ ।

कोलकाता बन्दरगाहमा आइपुगेको मल अहिले श्रमिकहरूले अनलोड र ब्यागिङ गर्दै छन् । कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलका अनुसार अबको ३र४ दिनमा ब्यागिङको काम सकिएपछि करीब १ सातामा हल्दिया रेलवे हुँदै मल वीरगञ्ज आइपुग्नेछ । वीरगञ्ज आइसकेपछि त्यसलाई वितरणका लागि विराटनगर र भैरहवा पठाइने उनको भनाइ छ ।

नेपालले बंगलादेश सरकारसँग किनेको मल बंगलादेशको चटगाउँ बन्दरगाहबाट ढुवानिकर्ता कम्पनी जेन ट्रेड एफजेडएफले नेपालसम्म ढुवानी गर्नेछ । बंगलादेश सरकारले जेन ट्रेडलाई कुल ५० हजार मेटन युरिया मल तीन चरणमा उपलब्ध गराउनेछ । पहिलो चरणमा २२ हजार ५ सय मेटन आयात हुन थालेको हो । त्यसैगरी दोस्रो चरणको १० हजार मेटन मल जेन ट्रेडले अबको हप्ता दिनभित्र प्राप्त गर्ने छ भने तेस्रो चरणको १७ हजार ५ सय मेटन मल मार्च १५ तारीखमा बुुझ्ने कम्पनीले बताएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal