नवलपरासीमा सार्वजनिक भए नेत्रविक्रम चन्द विप्लव, प्रहरी स्कर्टिङमा काठमाडौं आउँदै

२०७७ फाल्गुन २१ गते, शुक्रबार

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द सरकारसँग भएको सहमतिको विस्तृत विवरण घोषणा कार्यक्रममा सहभागी हुन शुक्रबार नवलपरासीबाट काठमाडौं आउँदै छन् । विप्लवलाई प्रहरीको स्कर्टिङमा आज दिउँसो काठमाडौं ल्याइँदै छ । उनी कसैलाई थाहा नदिइकन काठमाडौं आउने तयारीमा रहे पनि प्रहरीले सूचना पाएपछि नारायणगढबाट स्कर्टिङ गर्दै काठमाडौं ल्याउन लागिएको हो । विप्लव पश्चिम नेपालबाट गएराति पूर्वी नवलपरासीको अमरापुरीस्थित बेलबहादुर सारुको घरमा आएर बास बसेको सिएनएन एक्प्रेसलाई रिपोट प्राप्त भएकोे छ ।

सरकार र चन्द नेतृत्वको नेकपाले बिहीबार तीनबुँदे सहमति गरेका थिए । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

त्यही सहमतिको विस्तृत विवरण शुक्रबार दिउँसो २ बजे गर्न लागिएको हो । सहमतिमा ‘नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषय’ समेटिएका थिए । ती सहमतिलाई बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरिसकेको छ ।

यसअघि सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । झन्डै २० महिनाअगाडि सरकारले चन्दसहितका सशस्त्र समूहसँग छलफलका लागि सोमप्रसाद पाण्डे संयोजक, सुरेश आलेमगर र लीला भण्डारी सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, चन्द समूह आउन नमानेपछि ६ महिनामै सरकारी वार्ता टोली भंग भएको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal