संसदमा अब नयाँ खेल सुरु हुन्छ, हामी ओली नेतृत्वको वर्तमान सरकार जोगाउन लाग्छौं : झलनाथ खनाल

२०७७ फाल्गुन २६ गते, बुधबार

फागुन २६, काठमाडौं । नेकपा एमालेका वरिष्ट नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पूरा कार्यकाल काम गर्नुपर्ने बताएका छन् । ‘नेकपा एमालेको वरिष्ठ नेताको हैसियतले यो सरकार नै दुई वर्ष जानुपर्छ भन्ने म चाहन्छु,’ पूर्वप्रधानमन्त्री खनालले संसद भवन परिसरमा बुधबार पत्रकारहरुसँग भने ।

सरकार टिकाउने दायित्व प्रधानमन्त्रीको हो कि तपाईंहरुको पनि हो भन्ने प्रश्नमा खनालले भने, ‘हाम्रो पार्टी नेकपा एमालेको हो हामी अव एमालेको सरकार जोगाउनै लाग्छौं ।’ उनले संसदमा अब नयाँ खेल सुरु हुने पनि बताए ।

उनले संसद् पुनर्स्थापना आफैंमा ऐतिहासिक भएको बताउँदै संविधानको मर्म र भावना अनुरुप अब अगाडि बढ्नुको कुनै विकल्प नभएको बताए । तीन वर्षपछि पुनः नेकपा एमालेको सांसद बन्दाको अनुभवबारे राखिएको जिज्ञासामा खनालले आफूलाई बडो रमाइलो लागेको प्रतिक्रिया दिए।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal