एमाले नेता कार्यकर्ताहरुमा पुरानो तुष, बोर्ड राख्ने विषयलाई लिएर ओली र नेपाल पक्षबीच झडप

२०७७ फाल्गुन २६ गते, बुधबार

फागुन २६, कैलाली । कैलालीको धनगढीस्थित एमालेको प्रदेश कार्यालयमा बोर्ड राख्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कार्यकर्ताबीच बुधबार झडप भएको छ । धनगढी उपमहानगरपालीका वडा नम्बर –३ चटकपुरमा रहेको नेकपाको प्रदेश कार्यलयको बोर्ड परिवर्तन गर्ने क्रममा दुवै पक्षका कार्यकर्ता बीच झडप भएको थियो । झडपपछि स्थिति तनावपूर्ण भएको छ ।

नेपाल पक्षका कार्यकर्ताले भीम रावल प्रदेश इन्चार्ज र भानुभक्त जोशी अध्यक्ष भएको नेमप्लेटसहित नयाँ बोर्ड राखेका थिए । त्यसको केही बेरमा ओली पक्षका प्रदेश अध्यक्ष कर्ण थापाको नेतृत्वमा गएको समूहले नेपाल पक्षले राखेको बोर्ड च्यातेर नयाँ बोर्ड राखेको थियो ।
त्यसलगत्तै नेपाल पक्षका कार्यकर्ताले पुनः ओली पक्षले राखेको बोर्ड र नेमप्लेट हटाएका थिए ।
त्यस क्रममा दुवै पक्षबीच झडपसमेत भएको थियो । अहिले प्रदेश कार्यलय प्रहरीले नियन्त्रणमा लिएको छ । कैलाली प्रशासनले संभावित झडपको आकलन गरेर बिहानैदेखि कार्यालय परिसरमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेको थियो ।

एमालेले उक्त भवन भाडामा लिएर प्रदेश कार्यालय स्थापना गरेको थियो । माओवादी केन्द्र र एमालेबीच एकता भएपछि सोही भवनमा नेकपाको प्रदेश कार्यालय स्थापना गरिएको थियो ।
सर्वोच्च अदालतको फैसलापछि साविकको नेकपाबाट ओली र नेपाल समूह दुबै पूर्ववत् एमालेमा फर्किए पनि नेता कार्यकर्ताहरुमा पुरानो तुष देखिएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal