शिवरात्रिमा पशुपति दर्शन गर्न मास्क अनिवार्य, गाँजा सेवनमा रोक

२०७७ फाल्गुन २६ गते, बुधबार

फागुन २६, काठमाडौं । शिवरात्रिमा भक्तजनले अनिवार्य मास्क लगाउनु पर्ने भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर मात्र पशुपतिनाथको दर्शन गर्न पाइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । लाखौंको संख्यामा आउने भक्तजनको संख्यालाई ध्यानमा राखेर सरकारले तोकेका सबै स्वास्थ्य मापदण्ड पालना गर्दै दर्शनको व्यवस्था मिलाइएको छ ।

बिहीबार परेको शिवरात्रिका लागि तयारी सकिएको छ । सुरक्षा, आवास, भोजनलगायतको व्यवस्थापनका लागि ११ वटा समिति बनाइएको छ । दर्शनका लागि पशुपतिनाथ मन्दिरका चारै दिशाका ढोका खुला रहनेछन् । प्रत्येक ढोकाका लागि भिन्न–भिन्न स्थानबाट लाइन बस्ने व्यवस्था मिलाईएको छ । ‘जुन दर्शनमार्गबाट प्रवेश गरेको हो, त्यही मार्गबाट फर्किने व्यवस्था गरिएको छ, ‘दर्शनमार्गमा पायक पर्ने गरी ५ स्थानमा जुत्ताचप्पल राख्ने ठाउँ हुनेछन् ।’

पशुपति क्षेत्र विकास कोषको कार्यालय, सिफल चौर, महानगरीय प्रहरी प्रभाग गौशाला परिसर, गुह्येश्वरी, तिलगंगा करिडोरका विभिन्न स्थानमा गरी ५ ठाउँमा सवारी पार्किङको व्यवस्था गरिएको छ । शिवरात्रिका दिन चक्रपथअन्तर्गत विमानस्थलदेखि चाबहिलसम्म सडकको आधा भागमा मात्र सवारी सञ्चालन गर्न पाइनेछ । नियमित रुटका र निजी सवारीबाहेक मालवाहक साधनले प्रवेश पाउने छैनन् । अघिल्ला वर्षहरूमा तीनकुनेदेखि चाबहिलसम्म पूरै सडक बन्द गरिन्थ्यो ।

कोषले पशुपति क्षेत्रमा गाँजा बिक्रीवितरण र सेवनमा समेत रोक लगाएको छ । ‘पशुपति क्षेत्र कानुनले नै मांस, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रिमा समेत गाँजा, भाङ, जाँड, रक्सीजस्ता नशालु पदार्थको बिक्रीवितरण, ओसारपसार, भण्डारण र प्रयोग नगर्न अनुरोध सबैलाई अनुरोध गरीएको छ ।

शिवरात्रिका दिन ९५ वटा संस्थाले भक्तजनलाई निःशुल्क भोजन गराउने अनुमति लिएका छन् । वनकाली, तिलगंगा र हंसमण्डपलाई आवास क्षेत्र तोकेर खाना र पानीको व्यवस्था गरिनेछ । साधुसन्तका लागि पनि निःशुल्क भोजन, पानी, चिया र बसोबासको व्यवस्था मिलाइएको छ । शिवरात्रि सकिएपछि गुठी संस्थानले निर्धारण गरेअनुसारको रकम बाटो खर्च दिएर साधुसन्त बिदाइको कार्यक्रमसमेत राखिएको कोषले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal