सामान्य अंकले घटेको बजारमा ४ अर्बभन्दा बढीको कारोबार, “पर्ख र हेर” कै अवस्थामा लगानीकर्ता

२०७७ फाल्गुन २६ गते, बुधबार

फागुन २६, काठमाडौं । पछिल्लो समय शेयर कारोबार रकममा कमि आउँदै गएको छ । गत माघ २६ गते हालसम्मकै उच्च रू १० अर्ब ६१ करोड ९१ लाखभन्दा बढीको शेयर कारोबार भएको बजारमा पछिल्लो समय कारोबार रकम भने घट्दै गएको छ ।

बुधवार नेप्से परिसूचक शून्य दशमलव १४ प्रतिशत घटेर बन्द भएको छ भने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव शून्य १ बढेको छ । नेप्से परिसूचक ३ दशमलव ४० अंकले घटेर २ हजार ४५८ दशमलव ४८ विन्दुमा झरेको हो भने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव शून्य २ अंकले बढेर ४४५ दशमलव २३ विन्दुमा पुगेको हो । बिहीवार महाशिवरात्रीको सार्वजनिक विदा परेकाले बुधवारनै यो साताको अन्तिम कारोबार दिन रहेको छ ।

बुधवार सामान्य अंकले घटेको बजारमा चन्द्रागिरी हिल्स लिमिटेड, घलेम्दी हाइड्रो र नेपाल हाइड्रो डेभलोपर लिमिटेडको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । यो दिन चन्द्रागिरी हिल्सको सर्वाधिक ९ दशमलव ९९ प्रतिशत बढेर रू ८०४ र घलेम्दी हाइड्रो लिमिटेडको ९ दशमलव ९२ प्रतिशत बढेर रू १४४ पुगेको छ । त्यस्तै नेपाल हाइड्रो डेभलोपरको ९ दशमलव ५५ प्रतिशत बढेर अन्तिम मूल्य रू ३९० पुगेको छ ।

बुधवार कारोबारमा आएको १३ ओटा समूहगत परिसूचकमध्ये व्यापारिक समूहको परिसूचक सर्वाधिक ८ दशमलव १५ प्रतिशत बढेको छ । यो दिन होटल्स तथा पर्यटन समूहको २ दशमलव २ प्रतिशत, जलविद्युतको शून्य दशमलव २ प्रतिशत, वित्तको शून्य दशमलव ४ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ८३ प्रतिशत, अन्यको १ दशमलव ९६ प्रतिशत र लगानी समूहको शून्य दशमलव शून्य ३ प्रतिशत बढेको छ ।

यस दिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १ दशमलव शून्य १ प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङ् समूहको शून्य दशमलव ६१ प्रतिशत विकास बैंकको शून्य दशमलव ४३ प्रतिशत, लघुवित्तको शून्य दशमलव ९४ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ७८ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव २४ प्रतिशतले परिसूचक घटेको छ ।

कोभिडको प्रभाव कम हुँदै जाँदा अन्य व्यवसायिक क्षेत्रहरु पनि सुचारु हुनुले बैंक तथा वित्तीय संस्थामा तरलता कम हुनसक्ने, तरलता कम भएसँगै बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदरमा वृद्धि गर्न सक्ने आम लगानीकर्ताको मनोभावका कारण पनि यो समय बजार प्रभावित भएको जानकारहरु बताउँछन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal