ललिता निवास प्रकरणमा आरोपित गच्छदारले अदालतले पठाएको म्याद बुझ्न मानेनन

२०७७ फाल्गुन २६ गते, बुधबार

फागुन २६, काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी तथा सार्वजनिक जग्गा हिनामिना प्रकरणमा संलग्नताको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले अदालतले पठाएको म्याद बुझ्न आनाकानी गरेका छन् ।

विशेष अदालतले २० फागुन २०७६ मा जिल्ला अदालत सुनसरीमा म्याद पठाएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो । पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदारसँग आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।

अख्तियारले प्रतिवादी बनाएका पूर्वमन्त्री डम्बर श्रेष्ठलाई विशेष अदालतले ५ लाख धरौटीमा छोडेको छ । त्यस्तै, अर्का पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन् ।
ललिता निवास प्रकरणका प्रतिवादीहरू मध्ये पूर्वसचिव दीप बस्न्यातलाई अदालतले थुनामा पठाएको छ । पूर्वसचिवद्वय दिनेशहरी अधिकारी र छविराज पन्त भने पाँचरपाँच लाख धरौटीमा छुटेका छन् ।

५० करोड भन्दा बढी बिगो मागदाबी गरिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनमबहादुर गुरुङलाई २ करोड धरौटीमा छाडिएको छ । ललिता निवासप्रकरणका योजनाकार मध्येका एक शोभाकान्त ढकाल पनि विशेष अदालतले थुनामा राख्ने आदेश दिएको छ । अख्तियारले ढकालसँग ३९ करोड २८ लाख बिगो मागदाबी गरेको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal