रामबहादुर थापालाई एमालेको उपाध्यक्ष बनाउने ओलीको तयारी, नेपाल–खनाल पक्ष पनि छलफलमा

फागुन २६, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपा विवादका क्रममा आफूलाई साथ दिन आएका पूर्वमाओवादी नेता रामबहादुर थापालगायतका माओवादी केन्द्रमा नफर्कने नेताहरुलाई एमालेमा सम्मानजनक स्थान दिईने भएको छ । जसअनुसार गृहमन्त्रीसमेत रहनुभएका थापालाई एमालेको उपाध्यक्ष बनाउने तयारी ओलीले गरेका हुन।
नेकपा एमालेमा पाँच उपाध्यक्ष मध्ये एक पद रिक्त रहेकाले सोही स्थानमा थापालाई मनोनयन गर्ने तयारी ओलीले गरेका छन । तत्कालीन एमालेमा वामदेव गौतम, विद्या भण्डारी, भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली उपाध्यक्ष रहेकामा भण्डारी राष्ट्रपति भएपछि एक पद रिक्त रहेको हो । एमाले उपमहासचिव बिष्णु पौडेलका अनुसार आफ्नो सांसद पद नै धरापमा राखेर संकट परेका बेला कम्युनिष्ट आन्दोलनलाई सघाउन तयार राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभामा रहेकाहरुलाई उचित सम्मान दिइने प्रतिक्रिया दिए। प्रतिनिधि सभा विघटन गर्ने कदममा साथ दिने थापासहित, पूर्वमाओवादीका टोप बहादुर रायमाझी,प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई ओलीले मन्त्री पद दिएर आफ्नो पक्षमा पारेका थिए।
उता,संसद विघटन गर्ने ओलीको कदमविरुद्ध तत्कालीन नेकपामा पुष्पकमल दाहालसँग लागेका माधव नेपाल र झलनाथ खनालले पनी आफूपक्षीय केन्द्रीय कमिटीका सदस्यहरुसँग छलफल थालेका छन। बदलिँदो परिस्थितिमा पार्टीभित्रको विमतिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा विस्तृत रुपमा छलफल गर्ने र आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा उनीहरुले छलफल केन्द्रित गरेका छन।