क्यूआर कोडमार्फत भुक्तानी : कारोबार संख्या ३ लाख ७२ हजार नाघ्यो

२०७७ फाल्गुन २७ गते, बिहीबार

फागुन २७, काठमाडौं । पछिल्लो समय बजारमा डिजिटल भुक्तानीमध्ये क्यूआर कोड ९क्वीक रेस्पोन्स० मार्फत हुने कारोबारको विषयले चर्चा पाएको छ । चर्चा भएअनुसार नै क्यूआर कोडमार्फत हुने कारोबार प्रत्येक महीना हजारौंको संख्यामा बढेको छ ।

क्यूआर कोडमार्फत हुने भुक्तानीलाई प्रोत्साहन गर्न राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफै लागिपरेका छन् । गत कात्तिक र मङ्सिर एकै महीनाको अन्तरमा कारोबार संख्यामा उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार एकै महीनामा १ लाख १ हजार ७ सय ५६ कारोबार थपिएर गत मङ्सिरमा कुल कारोबार संख्या ३ लाख ४३ हजार ५ सय ७४ पुगेको छ । सो संख्यामा रू। १ अर्ब २५ करोड ५५ लाख रूपैयाँ बराबरको भुक्तानी क्यूआर कोडमार्फत भएको छ ।

यसैगरी गत पुसमा मङ्सिर महीनाको तुलनामा २८ हजार ६ सय २ ओटा कारोबार थपिएर कुल कारोबार संख्या ३ लाख ७२ हजार १ सय ७६ पुगेको छ । यस अवधिमा क्यूआरबाट भुक्तानी गर्नेको संख्या बढे पनि कुल कारोबार रकममा भने न्यून संकुचन आएको छ । पुस महीनामा १ अर्ब २४ करोड ५० लाख रुपैयाँ क्यूआर कोडमार्फत भुक्तानी भएको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal