१९ बुँदे राजनीतिक प्रस्ताव पेश गरेर ओलीको बुर्जुवा हेडक्वाटरमा मैले बम हानेकै हो : प्रचण्ड

२०७७ फाल्गुन २८ गते, शुक्रबार

फागुन २८, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले १९ बुँदे राजनीतिक प्रस्ताव पेश गरेर केपी ओलीको बुर्जुवा हेडक्वाटरमा बम हानेको बताएका छन। शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कमिटी रूपन्देहीले गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले केपी ओलीविरुद्ध बम हानेको टिप्पणी गरेका हुन।

‘प्रचण्ड’ले माधवकुमार नेपालहरुले एमाले कब्जा गर्ने वा विद्रोह गर्ने अवस्था आउने दाबी गरेका छन् । माधव नेपालहरु अहिले पनि कम्युनिस्ट एकताका लागि पहल गर्नुपर्छ भन्नेमा रहेका प्रचण्डले बताए । उनले एमाले यही स्थितिमा रहन नसक्ने दाबीसमेत गरे । ‘या त माधवजीहरुले छिट्टै एमाले कब्जा गर्ने र केपी ओलीलाई हटाउने स्थिति हुन्छ,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘होइन भने माधवजीहरुले विद्रोह गर्ने स्थिति बन्छ ।’ माधव नेपालहरुले एमालेबाट विद्रोह गरे मिलेर आन्दोलनकारी शक्ति बनाउने उनले बताए ।

आफूहरूले संघर्ष र संगठन बनाउन थालेपछि क्रान्तिकारी र गुणात्मक हिसाबले संगठन निर्माण गर्न सक्छौं भन्ने आत्मविश्वास लिन दाहालले कार्यकर्तालाई आग्रह समेत गरे। ‘आफैंभित्रको शक्तिलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने अवस्था देखियो,’उनले भने, ‘दुई–तीन वर्ष मेहनत गर्ने हो भने पुनः पार्टीलाई देशको पहिलो पार्टी बनाउनसक्ने ताकत हामीसँग छ ।’

पछिल्ला केही वर्षहरूमा आफूबाट भएका गल्तीहरूको आत्मसमीक्षा गर्न थालेको बताउँदै उनले पार्टीभित्र भएका साथीहरूलाई बढी समय दिने र बाहिरतिर नलाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले पार्टी छाडेर जानेहरूको लागि भन्दा आफूसँग भएका साथीहरूको विषयमा बढी सोच्ने उनको भनाइ छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal