देउवालाई पौडेल समूहको आग्रह : नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको पहल गर्नुस्

२०७७ फाल्गुन २८ गते, शुक्रबार

फागुन २८, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ । आज (शुक्रबार) विहान पार्टी महामन्त्री शशांक कोइराला निवासमा बसेको पौडेल पक्षीय नेताहरुको बैठकमा आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास थाल्न सभापति देउवालाई आग्रह गर्ने निष्कर्ष निकालिएको हो । यसअघि पौडेल समूह, कांग्रेस सरकार बनाउने खेलमा लाग्न नहुने पक्षमा उभिएको थियो । पार्टी सरकार बनाउने दौडमा लाग्नुभन्दा महाधिवेशन सम्पन्न गर्ने र चाँडो निर्वाचनमा जानुपर्ने पक्षमा उक्त समूहका नेताहरुले मत राख्दै आएका थिए ।

अदालतको निर्णयबाट नेकपा खारेजीसँग एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रधानमन्त्री केपी ओली जसपाको सहयोगमा सरकार टिकाउन लागिपरिरहेका सन्दर्भमा कांग्रेस आफै पनि सरकार निर्माणको होडमा देखिन लागेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउन प्रस्ताव गरेका छन् । कांग्रेस आफैंले भने आफ्नो नेतृत्वमा सरकार गठनको अग्रसरता देखाएको छैन ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal