माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, ६ वटा एजेण्डामा नै बैठक केन्द्रित हुने

२०७७ चैत्र २ गते, सोमबार

चैत्र २, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । आइतबारबाट पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठक आज सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा आइतबार (हिजो) प्रस्तुत ६ वटा एजेण्डामा नै केन्द्रित रहेर छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठले धारण राखेका थिए भने सात प्रदेशका नेताहरुले प्रदेशको रिपोटिङ गरेका थिए । बैठकमा प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ शाह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए । यस्तै अध्यक्ष प्रचण्डले पार्टीको नाम फेर्न गरेको प्रस्तावको अधिकांश केन्द्रीय सदस्यहरुले विरोध गरेका थिए । उनीहरुले हतारमा पार्टीको नाम फेर्न नहुने सुझाव दिएको नेताहरुले बताएका छन् ।

माओवादीको शनिबार बसेको स्थायी समिति बैठकले आज केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । स्थायी समिति बैठकले सरकारमा रहेका ७ मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal