सत्ता समिकरणबारे छलफल गर्न कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक बस्दै

२०७७ चैत्र २ गते, सोमबार

चैत्र २, काठमाडौं । संसद पुनःस्थापनापछि बदलिएको मुलुकको राजनीतिक ‘कोर्स’अनुसार नै सत्तारूढ बाहेकका दल सरकार फेरबदलको प्रयासमा निरन्तर लागेका छन् । एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि गठन भएको नेकपा खारेज गर्ने सर्वोच्चको फैसलासँगै बदलिएको राजनीतिक वातावरणकै बीच दल नयाँ सत्ता गठबन्धनको प्रयासमा जुट्दै आइरहेका हुन् । तर उनीहरूको प्रयासले सार्थकता पाउन सकेको छैन । नयाँ सत्ता समिकरणमा सहमति जुटाउन नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को त्रिपक्षिय बैठक आज बस्दैछ ।

यी तीन दलहरुबीच एक आपसमा पटक पटक छलफल भएपनि सत्ता सहकार्यकै लागि पहिलो पटक त्रिपक्षिय बैठक बस्न लागेको हो ।
आजको बैठकले भावी प्रधानमन्त्रीबारे सहमति जुटाउने कांग्रेस नेताहरुले बताएका छन् । सरकारको नेतृत्वको विषयमा कांग्रेस एकमत देखिएको र अंक गणितका हिसाबले पनि ठूलो रहेकाले कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बनाउने सम्भावना बलियो रहेको देउवानिकट नेताहरुको बुझाई छ ।

माओवादी केन्द्रले पनि जुनसुकै शर्तमा प्रधानमन्त्री केपी ओलीलाई हाटाउने बताउँदै आएको छ । जसपाले पनि नयाँ सरकारबारे एकमत बनाईसकेको छ । आफ्ना मुद्दा पूरा गर्नेलाई प्रधानमन्त्रीमा सघाउने सार्वजनिक अभिव्यक्ति दिदै आएको जसपाको भित्री स्वार्थ भने आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने देखिएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal