नेकपा एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता

२०७७ चैत्र २ गते, सोमबार

चैत्र २, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री ओलीले भेटका लागि बालुवाटारमै बोलाए पनि नेपाल त्यहाँ जान नमानेपछि पार्टी कार्यालय धुम्बाराहीमा भेट हुन लागेको हो ।
ओली र नेपालबीच करिब चार महिनापछि भेट हुन लागेको हो । नेकपामा मतान्तर बढेपछि नेपालले ओलीसँग अलग्गै भेट भेट गरेका थिएनन ।

सर्वोच्च अदालतको फैसलापछि ब्यूतिएको नेकपा एमालेमा आन्तरिक रडाको मच्चिएका बेला हुन लागेको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् । अर्कातर्फ नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त सहभागी छन् ।

नेपाल पक्षले पार्टीलाई एकढिक्का बनाएर लैजाने हो भने ओली समूहले पछिल्लो समयमा गरेका निर्णयहरु खारेज हुुनपर्ने माग गरिरहेको छ । पार्टीलाई एकीकरणपूर्वको अवस्थामा फर्काउने हो भने नयाँ ढंगबाट छलफल हुन सक्ने यो समूहको निष्कर्ष छ । यसअघि प्रधानमन्त्री ओलीले हिजो राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका थिए भने वरिष्ठ नेता नेपाल र झलनाथ खनालले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal