खनाल–नेपाल समूहको राष्ट्रिय भेला काठमाण्डौमा, समानान्तर कमिटी गठनको प्रक्रिया सुरु

२०७७ चैत्र ४ गते, बुधबार

चैत्र ४, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले तल्लो तहसम्मै समानान्तर कमिटी गठनको प्रक्रिया सुरु गरेको छ । त्यसका लागि बुधबार र बिहीबार राजधानीमा राष्ट्रिय भेला बोलाइएको छ । एमालेको यो समूहले जनताको बहुदलीय जनवादको मूल्य र मान्यता रक्षा गर्दै पार्टीलाई एकाधिकारवाद, गुटवाद र विभाजनबाट बचाउँदै लोकप्रिय, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका रूपमा विकास एकताबद्ध हुनुपर्ने भएकाले भेला आयोजना गरिएको जनाएको छ । त्यसका लागि पार्टीमा अहिलेसम्म भएका काम, ओली नेतृत्वको एमाले हुँदा भएका कमीकमजोरी र अबको बाटो कस्तो हुने भनेर अवधारणापत्र प्रस्तुत हुने र त्यसमाथि समूहगत छलफल गरेर पारित गर्ने तयारी छ ।

भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटीका सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसद, पूर्वसांसद, जिल्ला कमिटीका पदाधिकारी, सम्पर्क कमिटी र मञ्चका सदस्य, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिव, जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जनसंगठन तथा पेसागत संगठनका केन्द्रीय सचिवालयका सदस्यका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी सहभागी हुने यो समूहले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal