केपी ओलीले पार्टीमा गुटबन्दीको सुरुवात गरे : झलनाथ खनाल

२०७७ चैत्र ४ गते, बुधबार

चैत्र ४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गुटबन्दीको सुरुवात गरेको बताएका छन। बुधबार ललितपुरमा भएको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले एकीकृत भएको पार्टीलाई ओलीले गुटबन्दीको सुरुवात गरेको बताएका हुन।

‘केपी ओलीको पार्टी विभाजन गर्ने दुष्प्रयासका विरुद्ध देशव्यापी रोष प्रकट भएको छ । त्यसलाई ठोस दिशा दिन यो छलफल आयोजना गरिएको हो । छलफलले जे निष्कर्ष निकाल्छ, त्यही अनुसार पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्न आवश्यक छ’, खनालको भनाइ छ ।
खनालले केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचार उन्मुलन गर्ने नारा लिए पनि ओली आफैँले भ्रष्टाचारीको संरक्षण गर्दै भ्रष्टाचारीहरूको पक्षमा उभिएको आरोप लगाए।

राजनीतिक नियुक्ति हुने ४ देखि ५ सय ठाउँमा पार्टीमा सल्लाह नगरी ओलीले आफ्ना धुपारे र आसेपासेलाई नियुक्त गरेको खनालको ओराप थियो। दुई तिहाइको सरकार भएको समयमा आफ्नो पार्टीले तीन वर्षमा धेरै प्रगतिशील नीति बनाउन सक्ने भए पनि केपी ओलीको स्वेच्छाचारी कदमले पार्टीमा गतिरोध सिर्जना भएको खनालको आरोप छ । ओलीले पार्टी बैठक राख्नै छाडेको, एकीकृत पार्टीको एकीकरणको काम तीन महिना भित्र पूरा नगरेको र केपी ओलीको नेतृत्वमा तीन वर्षसम्म पार्टी दक्षिणपन्थी अवसरवादी बाटोतर्फ गएको खनालको दाबी छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal