नेकपा एमालेको संसदीय दलको बैठक बस्दै, खनाल-नेपाल समूह सहभागी नहुने

२०७७ चैत्र ५ गते, बिहीबार

चैत्र ५, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठक बोलाएका छन। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा सूर्य चिह्नबाट चुनाव जितेका सबै सांसदहरुलाई डाकिएको छ।
अध्यक्ष ओलीले संसदीय दलको बैठक बोलाए पनि माधवकुमार नेपाल र झलनाथ खनाल समूह भने बैठकमा सहभागी नहुने जनाएको छ । राष्ट्रिय कार्यकर्ता भेला जारी रहेकाले संसदीय दलको बैठकमा सहभागी हुन नसक्ने माधव नेपाल समूहका नेता योगेश भट्टराईले जानकारी बताएका छन।

यो समूहले हिजोदेखि ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको छ । आजका लागि डाकिएको संसदीय दल र चैत ७ मा डाकिएको केन्द्रीय कमिटी बैठकमासमेत आफूहरु सहभागी नहुने नेता भट्टराईको भनाइ रहेको छ । फागुन २८ गतेको ओली समूहको बैठकले जिम्मेवारी हेरफेरसहित महत्त्वपूर्ण निर्णय गरेलगत्तै नेपाल(खनाल समूह थप असन्तुष्ट छ । निर्णय फिर्ता नलिएसम्म आफूहरुको सङ्घर्ष जारी रहने नेपाल(खनाल समूहका नेताहरुले बताएका छन् । यो समूहले बालुवाटारमा आयोजना भएको चियापान कार्यक्रमसमेत बहिस्कार गरेको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal