बालुवाटारमा एमाले संसदीय दलको बैठक सुरु, नेपाल समूहका आधा दर्जन बढी सांसद सहभागी

२०७७ चैत्र ५ गते, बिहीबार

चैत्र ५, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । ११ बजे बस्ने भनिएको बैठक भर्खरै मात्र सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । आजको बैठकमा लालबाबु पण्डित पुगेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि पण्डित तटस्थ रहँदै आएका थिए ।बरिष्ठ नेता माधवकुमार नेपाल निकट उनी पहिलो पटक ओलीले बोलाएको बैठकमा सामेल भएका हुन् । ओली समूहको बैठकले पण्डितलाई प्रदेश १ को सह-इन्चार्जको जिम्मेवारी दिएको छ ।

बैठक स्रोतका अनुसार तुलसा थापा पनि दलको बैठकमा पुगेकी छन् । वामदेव गौतम नेतृत्वमा सञ्चालित नेकपा एमाले राष्ट्रिय एकता अभियानमा रहेकी थापा दलको बैठकमा पुगेकी हुन् । गौतम पत्‍नी थापा एमालेका समानुपातिक सांसद हुन् । ओली र नेपाल समूहतर्फ बराबर भाग लिदै आएका अन्य सांसदहरु पनि बालुवाटार पुगेका छन् । यस्तै नन्दा चपाइँ, माया ज्ञवाली, सबिना हुसेन, गोपाल बम र विष्णु शर्मा बालुवाटार बैठक उपस्थित छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal