एमालेको केन्द्रीय कमिटी बैठक आज, नेपाल-खनाल समूह नजाने, वामदेव गौतम सहभागी हुने

२०७७ चैत्र ७ गते, शनिबार

चैत्र ७, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । त्यसअघि संसदीय दलको बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो । संसदीय दलको बैठकपछि केन्द्रीय कमिटीको बैठक राख्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको तयारी छ । माधव नेपाल र झलनाथ खनाल समूह भने बैठकमा नजाने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि बोलाउनुभएको केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा पनि नेपाल-खनाल समूह गएको थिएन । ओलीको कार्यशैलीको विरोध गर्दै उनीहरुले छुट्टै बैठक र भेला गर्दै आएका छन् । उपयुक्त एजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा बैठकमा सहभागी हुन सकिने नेपाल–खनाल समूहको भनाइ छ ।

शुक्रबार राति बानेश्वरमा बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले बैठक बहिष्कार गर्ने निर्णय गरेको छ। विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यसपटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने निर्णय गरीएको नेपाल पक्षका एक केन्द्रिय सदस्यले बताए।
यता उपाध्यक्ष वामदेव गौतमले संसदीय दल र केन्द्रीय कमिटीको दुवै बैठकमा सहभागी हुने जनाएका छन् । अखिल नेपाल किसान महासंघको शनिबार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा सहभागी हुने बताए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal