माओवादी केन्द्रले दोहोरो चरित्र त्याग्नु पर्छ : प्रकाशमान सिंह

चैत्र ८, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको बारेमा स्पष्ट बन्न नेकपा माओवादी केन्द्रलाई आग्रह गरेका छन। सत्ता समिकरणको विषयमा अपनाएको दोहोरो चरित्र त्याग्न पनि सिंहले माओवादी केन्द्रलाई सुझाव दिएका छन। आफ्नै निवास चाक्सीबारीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता सिंहले सरकारलाई दिएको समर्थन निरन्तरा वा फिर्ताको विषयमा प्रष्ट बन्न आग्रह गरे।
कांग्रेसको एकल बलमा केपी ओली नेतृत्वको सरकार हटाउन सहज नभएको भन्दै सिंहले नेकपा माओवादी केन्द्रको दोहोरो चरित्र तथा जसपाको ढुलमुले नीतिले वर्तमान राजनीतिक अन्योलता जटिलता उन्मुख भएको दावी गरे। कार्यक्रममा बोल्दै नेता सिंहले माओवादी केन्द्र र एमालेको ‘डिक्सनरी’बाट नैतिकता भन्ने शब्द हराएको आरोप लगाए। जनताबाट पाएको ‘म्याण्डेट’ लाई धोका दिने काम कम्युनिष्टहरुबाट भएको भन्दै उनले राजनीतिप्रति जनविश्वास घटेको बताए।