राष्ट्रपति भण्डारी दुई दिने भ्रमणका लागि आज बङ्गलादेश जाँदै : यस्तो छ भ्रमण कार्यतालिका

२०७७ चैत्र ९ गते, सोमबार

चैत्र ९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने भ्रमणका लागि आज बङ्गलादेश जान लागेकी छिन । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी आज बिहान ढाका जान लागेकी हुन । राष्ट्रपति भण्डारी बिहान साढे ८ बजे नेपाल एअरलाइन्सको जहाजबाट ढाका प्रस्थान गर्ने कार्यक्रम छ । बिहान १० बजे ढाकामा उहाँलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डाक्टर वंशिधर मिश्रले स्वागत गर्नेछन । राष्ट्रपति भण्डारीलाई त्यहाँको ‘गार्ड अफ अनर’ले सम्मान गरिनेछ ।

विमानस्थलबाट राष्ट्रपति भण्डारी बङ्गलादेशको शहीद स्मृति पार्क जानेछिन  । त्यसपश्चात राष्ट्रपति भण्डारी दिनभरजसो नै बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशताब्दी समारोह तथा स्वर्ण जयन्ती समारोहमा व्यस्त रहने छिन । सो क्रममा उनले नेपाल–बङ्गलादेश सम्बन्ध तथा बङ्गबन्धुको जन्मशताब्दीका विषयमा सम्बोधन गर्ने कार्यक्रम छ । समारोहमा नेपाली सांस्कृतिक समूहले बङ्गबन्धुको जन्मशताब्दी समारोहमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । उनले बङ्गबन्धु स्मृति सङ्ग्रहालयको अवलोकन भ्रमण गर्नेछिन ।

सोही क्रममा समकक्षी हमिदसँग छुट्टै द्विपक्षीय भेटवार्तासँगै रात्रि भोजमा सरिक हुनेछिन । मङ्गलबार राष्ट्रपति भण्डारीले बङ्गलादेशस्थित नेपाली राजदूतावासको भ्रमण गर्नुका साथै बङ्गलादेशमा रहेकानेपालीसँग भेट गर्ने कार्यक्रम छ । सो अवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत डा। मिश्रले आयोजना गरेको दिवा भोजमा सरिक हुेछिन । राष्ट्रपतिको भ्रमणले दुई देशबीचको आयात–निर्यात र व्यापार असन्तुलन कम गर्न नेपालको स्थानीय उत्पादनलाई बङ्गलादेशको आयातमा थप्नका लागि बढावा दिने अपेक्षा गरिएको छ । त्यस्तै कृषि उपकरण, बीउ बिजन तथा मल नेपालमा सहज उपलब्ध गराउन बङ्गलादेशले भूमिका खेल्ने विश्वास गरिएको छ ।भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेललगायत ५४ जना रहेका छन् ।

राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा मुख्य तीन वटा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । पर्यटन र संस्कृति आदानप्रदानसँग सम्बन्धित केहि विषय, पशुपन्क्षी र बालीनालीमा प्रयोग हुने विषादी तथा बन्दरगाह, रेलवे र नेपाल–बङ्गलादेश यातायात सञ्चालनका विषयमा पनि सम्झौतापत्रमा हस्ताक्षर हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन। यस्तै बङ्गलादेशले नेपालबाट बिजुली किन्न गरिरहेको पहलका विषयमा पनि राष्ट्रपति भण्डारीको भ्रमणका शिलशिलामा छलफल हुने बताईएको छ। राष्ट्रपति भण्डारी चैत १० गते नेपाल फर्कने छिन ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal