कैलालीमा तनावग्रस्त, प्रहरीले गोली चलायो, दुई जना घाइते

२०७७ चैत्र १० गते, मंगलवार

चैत्र १०, कैलाली । बसको ठक्करबाट युवतीको ज्यान गएपछि कैलाली तनावग्रस्त बनेको छ । तनावले उघ्ररुप लिन थालेपछि कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गोली प्रहारबाट घाइते भएकालाई उपचारका लागि कोहलपुर पठाइएको छ ।

मङ्गलवार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत लम्की चोकबाट टीकापुरतर्फ जाँदै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका १ की २२ वर्षीया कमला देवकोटाको ज्यान गएको थियो । त्यही विषयलाई लिएर आन्दोलित भएका स्थानीयवासीले राजमार्ग बन्द गर्नुका साथै टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूले इलाका प्रहरी कार्यालय लम्की घेराउसमेत गरेका छन् । प्रदर्शनकारीलाई तितर बितर बनाउन हवाई फायरसमेत गरिएको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal