एमाले अध्यक्ष ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल–खनाल पक्षले पनि बोलायो केन्द्रीय कमिटी बैठक

२०७७ चैत्र १२ गते, बिहीबार

चैत्र १२, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन ।
संसदीय दलको बैठक शुक्रबार (भोलि) दिउँसो ३ बजेको लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। बैठकमा चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने र सांसद्हरूको विकास बजेट खर्चको सन्दर्भमा छलफल हुने भट्टराईको भनाइ छ ।

उता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले पनि केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक शुक्रबार (भोलि) बिहान ११ बजेका लागि तय भएको नेता युवराज ज्ञवालीले जानकारी दिए। ज्ञवालीले बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताए। ‘पार्टी अहिले अप्ठ्यारो अवस्थामा छ । पार्टी एकतालाई कसरी जोगाउने र कसरी अघि बढ्ने भन्ने नै छलफलको एजेण्डा हो’, ज्ञवालीको भनाइ छ ।

यसअघि बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठकमा माधव नेपाल पक्षका नेता तथा सांसदहरु सहभागी भएका थिएनन् । बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले नै वरिष्ठ नेता नेपालसहित चार जना नेताहरुलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोध्न गरेको निर्णयअनुसार नेताहरुलाई सोमबार पत्र पठाएर स्पष्टीकरण सोधिएको छ । उक्त स्पष्टीकरणको प्रतिप्रश्न गर्दै जवाफ दिने तयारीमा नेताहरु जुटेका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal