भागरथीको भजाइनल स्वाबसँग अभियुक्तको डीएनए ‘म्याच’

२०७७ चैत्र १२ गते, बिहीबार

चैत्र १२, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्तको डीएनए ‘म्याच’ भएको छ । प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा अभियुक्त १६ वर्षीय दिनेश भट्टको डिएनए र भागरथीको भजाइनल स्वाब मिलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । अदालतको आदेशपछि दिनेशलाई पुर्पक्षका लागि बाल सुधार गृह डोटीमा राखिएको छ ।

यसअघि दिनेशले सुधारगृहमै रहेका बेला आफ्ना बुवालाई आफूले बलात्कार र हत्या नगरेको भनेर बताएका थिए । उनले गाउँपालिकाकै एक कर्मचारीको नाम समेत किटान गरी आफूलाई धम्क्याएर अपराध स्वीकार्न लगाएको बताएका थिए । तर, भागरथीको भजाइनल स्वाबसँग दिनेशको डीएनए मिलेपछि दिनेश नै घटनामा संलग्न रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । दिनेशले पुर्पक्षका लागि सुधार गृह नपठाउँदा सम्म आफूले नै बलात्कार हत्या गरेको बयान दिएका थिए । यसअघि भागरथीको शव जिल्ला अस्पतालमा परीक्षण गर्दा बलात्कारपछि हत्या भएको देखिएको थियो ।

गत माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपनि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र रुपमा शव फेला परेको थियो । प्रहरीले फागुन ५ गते दिनेशलाई सार्वजनिक गरेको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal