वेपत्ता झा दम्पतीको शव गाडिएको अवस्थामा भेटियो

२०७७ चैत्र १२ गते, बिहीबार

चैत्र १२, काठमाडौं । एक महिनाअघि वेपत्ता भएका महोत्तरी पिपराका झा दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ । पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका थिए । दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा–२ मा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । खाल्डो खनेर निकालिएको शवको दम्पतीको छोरा बुहारीले सनाखत गरेका छन् ।

यसअघि दम्पतीको अपहरण गरेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पिपरा गाउँपालिका–५ सहोडवा बस्ने ५२ बर्षीय रामबाबु यादव, उनका छोराहरु २६ बर्षीय सुरेन्द्र यादव र २४ बर्षीय राजेन्द्र यादव र पिपरा– ६ बस्ने भारतीय नागरिक ५० बर्षीय हरेन्द्र ठाकुर पक्राउ परेका थिए। उनीहरुविरुद्ध चैत ५ गते झाको परिवारले अपहरण गरी शरीर बन्धकसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएको थियो । पक्राउ परेकामध्ये रामबाबु यादवको घरको विभिन्न स्थानमा फेला परेको रगतको छिटा मानव रगत नै भएको परीक्षणबाट पुष्टि भएको प्रहरीको भनाइ छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal