स्वदेशी बिजुलीबाटै रासायनिक मल कारखाना खोल्छौं : प्रधानमन्त्री ओली

२०७७ चैत्र १२ गते, बिहीबार

चैत्र १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी बिजुलीबाटै रासायनिक मल कारखाना खोल्ने बताएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार गरेको कार्यक्रममा ओलीले रासायनिक मल कारखाना खोल्न आवश्यक पर्ने बिजुली दिन सरकार तयार रहेको बताए ।

प्रधानमन्त्री ओलीले पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घोषणाले कृषि विकासको क्षेत्रमा मुलुक एक कदम अघि बढेको बताए । कुनै न कुनै क्षेत्रमा हरेक दिन एक कदम अघि बढ्ने सरकारी नीति अनुसार कृषि क्षेत्रमा नयाँ प्रगति जनतासामु ल्याइएको उनको भनाइ छ । ‘देश एक कदम अघि बढेको छ । सबै नेपाली दाजुभाइ दिदी बहिनीलाई बधाई छ, यो राष्ट्रिय सफलता हो’ उनले भने ।

कृषि क्षेत्रलाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न उत्पादन विविधता र बजारीकरण सरकारको प्राथमिकता भएको प्रधानमन्त्रीले ओलीले बताए । नेपालीको सौखिन खाने शैलीले गर्दा प्रशस्त उत्पादन हुँदा पनि कृषिजन्य आयात नघटेको उनको भनाइ छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal