विदेशी पर्यटकका लागि सातदिने क्वारेन्टाइन खारेज

२०७७ चैत्र १३ गते, शुक्रबार

चैत १३, काठमाडौं । नेपाल आउने विदेशी पर्यटकको सम्बन्धमा यसअघि जारी भएका सम्पूर्ण मापदण्ड तथा आदेशहरू सरकारले खारेज गरेको छ । सरकारले बिहीवार पर्यटक आवागमन व्यवस्थित गर्ने सम्बन्धी नयाँ मापदण्ड सार्वजनिक गर्दै यसअघिका व्यवस्था खारेज गरेको हो । यद्यपि पर्यटकले नेपाल आउनुभन्दा पहिला ७२ घण्टाअघि दिएको स्बावको कोरोना पीसीआर परीक्षण नेगेटिभ भएको कागजात वा कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेको कागजात पेश गर्नुपर्नेछ । उक्त मापदण्डअनुसार विदेशी पर्यटकले नेपाल आउन प्राप्त गरेको भिसा वा नेपालको पर्यटकीय गतिविधिमा सहभागी हुन पर्यटन विभाग वा नेपाल पर्यटन बोर्टको सिफारिशको कागजात, होटेल बुकिङ गरेको वा बसोवास सुनिश्चित भएको प्रमाण, आपत्कालीन खोज, उद्धार, उपचारलगायत विषय समेटिएको नेपाल यात्रा आवधिभरका लागि मान्य हुनेगरी गरिएको यात्रा बीमा गरेको कागजात वायुसेवाको चेकइन काउन्टरमा देखाउनुपर्नेछ ।

सो मापदण्ड सार्वजनिक भए पनि नेपालमा विदेशी पर्यटकको पुनः पीसीआर परीक्षण हुने र त्यसपछि पीसीआर रिपोर्ट नेगेटिभ देखिएमा उनीहरू गन्तव्यमा जान पाउनेछन् । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मापदण्ड जारी गर्दै नेपाल प्रवेशसँगै पर्यटकले न्यूनतम ७ दिनको होटेल क्वारेन्टाइन बस्नुपर्ने र पाँचौं दिनमा पीसीआर परीक्षण गरी कोरोना नेगेटिभ आएमा मात्रै पदयात्रा तथा पर्वतारोहणमा जान पाइने व्यवस्था गरेको थियो । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले हालैको मन्त्रिपरिषद्को बैठकले मापदण्ड स्वीकृत गरेसँगै कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथाममा प्रतिकूल असर नपर्ने गरी पर्यटक आवागमन खुला गरिएको जानकारी दिए । यो मापदण्ड भने पर्यटकको हकमा मात्रै लागू हुनेछ । नेपाल आएपछि पुनः पीसीआर रिपोर्ट पोजिटिभ आएमा उनीहरू होटेल क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था पनि मापदण्डले गरेको अधिकारीले बताए ।

यसैगरी विदेशी पर्यटकलाई गन्तव्यमा लैजाने सम्बन्धित संस्था वा एजेन्सीहरूले पर्यटकको साथमा जाने नेपाली सहयोगी वा नेपाली सदस्यको कम्तीमा रू। १ लाखको कोरोना बीमा गर्नुपर्ने व्यवस्था छ । नेपाल आउने भारतीय पर्यटकका लागि पनि मापदण्डले विशेष व्यवस्था गरेको छ । हवाईमार्गबाट आउने भारतीय पर्यटकको हकमा नेपाल–भारत ट्राभल बबल एग्रिमेन्ट अनुरूपको व्यवस्था कायम रहनेछ । यस्तै स्थलमार्गबाट आउनेले नेपाल–भारत सीमाको अध्यागमन बिन्दुमा आवश्यक कागजात पेश गर्नुपर्ने नीति सरकारले बनाएको छ । साथै नेपाली पर्यटनसम्बन्धी एजेन्सी तथा संस्थाहरूले गर्नुपर्ने काम समेत तोकिएको छ । यो समाचार आजको आर्थिक अिभियान दैनिकमा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal