ज्योति लाइफको आईपीओ आज बाँडफाँड हुँदै, १२ लाख बढिको हात खाली

२०७७ चैत्र १३ गते, शुक्रबार

चैत १३, काठमाडौं । ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) आज (शुक्रबार) बाँडफाँड हुँदैछ । आईपीओ बाँडफाँड ज्योति लाइफ इन्स्योरेन्सको भवन, ज्ञानेश्वरमा, दिउँसो १२:३० बजे हुने निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ । मागभन्दा धेरै आवेदन परेको हुनाले उक्त आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । गोलाप्रथाद्वारा गरिने बाँडफाँडमा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने भएका छन् ।

आईपीओमा आवेदन दिएका १८ लाख ४२ हजार ४९६ जनामध्ये १२ लाख ४८ हजार ४९६ जना (दोहोरो आवेदक सहित) आवेदकको हात खाली हुने देखिएको छ । जुन सर्वसाधारणका लागि आवेदन दिएकामध्ये ६७.७६ प्रतिशत हो । आवेकदको ३२।२४ प्रतिशत अर्थात ३ जनामध्ये गोलाप्रथाबाट एक जनाले मात्र शेयर पाउनेछन् । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँड गर्दा उच्च आवेदनका कारण एक तिहाइ लगानीकर्ताले मात्र शेयर पाउने अवस्था आएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो। जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो । ज्योति लाइफको अधिकृत पूँजी तीन अर्ब, जारी पूँजी दुई अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड छ । सर्वसाधारणलाई आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड पुग्नेछ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal