ब्राजिलमा एकैदिन एक लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

२०७७ चैत्र १३ गते, शुक्रबार

चैत १३, काठमाडौं । ब्राजिलमा एकैदिन एक लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । समाचार संस्था रोयटर्सका अनुसार बिहीबार ब्राजिलमा १ लाख १ सय ५८ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै बिहीबार ब्राजिलमा थप २ हजार ७ सय ७७ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या १ करोड २३ लाख २० हजार नाघेको छ । ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ३ हजारभन्दा बढी नाघेको छ । ब्राजिलमा कोरोना संक्रमण पुष्टि भएकामध्ये करिब १ करोड ८ लाख निको भएका छन् ।

यसअघि ब्राजिलमा बुधबार एकैदिन ३ हजार २ सय ५१ जनाको मृत्यु भएको थियो । यो भाइरसका कारण एकै दिन मृत्यु भएको हालसम्मकै ठूलो संख्या हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण निकै तीव्र बन्दै गएको छ । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाइएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal