केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन केही दिन भित्रै फिर्ता लिन्छौं : प्रचण्ड

२०७७ चैत्र १४ गते, शनिबार

चैत १४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिने बताएका छन् । बृहत नागरिक आन्दोलनले काठमाण्डौमा गरेको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संसद पुनस्स्थापनाको फैसला गरेपछि तत्कालै ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने भए पनि प्रस्ताव पछिको राजनीतिक निकासबारे प्रष्ट नहुँदा ढिलाइ भएको बताए ।

प्रचण्डले भने, ‘अब म नैतिक र राजनीतिक ढंगले धेरै दिन पर्खिन सक्दिन, राजनीति जतासुकै जाओस् । यद्यपि आफूले अवसको निकासबारे हिजो सडकमा भएका दलहरुबीच न्यूनमत सहमति होस्, सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक होस् भनेर मात्र दाह्रा किटेर समर्थन कायम राखेको उनले बताए ।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले साथ दिएमा ओली सरकारलाई दिएको समर्थन तत्कालै फिर्ता हुने प्रचण्डको भनाइ छ ।प्रधानमन्त्री ओली प्रतिगामी बाटोमा लागेको र उहाँ सत्तामा रहुञ्जेल संविधान, गणतन्त्र लगायतका उपलब्धि पनि गुम्न सक्ने खतरा रहेको प्रचण्डको दाबी थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal