बहुप्रतीक्षित मेलम्ची पानी आजदेखि काठमाडौं वासीका धारामा झर्ने, चार स्थानबाट वितरण गरिँदै

२०७७ चैत्र १५ गते, आईतवार

चैत १५, काठमाडौं । बहुप्रतीक्षित मेलम्ची पानी काठमाडौंवासीका धारामा बल्ल झर्ने भएको छ । काठमाडौं उपत्यकामा आज आइतवारबाट मेलम्चीको खानेपानी वितरण हुने भएको हो। सरकारले आज बिहान ८ देखि १० बजेसम्म काठमाडौंका चार स्थानबाट मेलम्ची खानेपानीे औपचारिक रूपमा वितरण गर्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मात्र आइतबार मेलम्ची पानी काठमाडौंवासीका धारामा छाड्ने जानकारी गराएका थिए । एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उनले सरकारले उल्लेख्य प्रगति गरेको जनाउँदै मेलम्ची पानी काठमाडौंवासीका घरका धारामा छाडिने बताएका थिए । यसअघि, गत २२ फागुनमा मेलम्चीबाट सुरुङमा खसालिएको पानी परीक्षण गरिएको थियो । परीक्षणका लागि गत १० फागुनमा सुरुङमा खसालिएको सिन्धुपाल्चोक स्थित मेलम्ची खानेपानी आयोजनाको पानी २२ फागुनमा काठमाडौंको सुन्दरीजल आइपुगेको थियो । सो पानी प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको थियो । पटकपटक भाखा सारिँदै आएको र उपत्यकावासीको सपना नै बनेको मेलम्चीको पानी आज पहिलो दिन काठमाडौंका चार स्थान खुमलटार, अनामनगर, मीनभवन र महाँकालबाट वितरण गरिँदै छ ।

एक हप्तामै दैनिक साढे ८ करोड लिटर पानी वितरण हुने भनिए पनि आज करीब ४ करोड लिटर मात्रै पानी वितरण गर्ने तयारी छ ।
काठमाडौंका यी स्थानमा पानी वितरण गर्न सुन्दरीजलबाट दैनिक ८ करोड लिटर पानी वितरण हुने बताईएको छ । आजबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले हाल वितरण गर्दै आएको प्रणाली र आयोजनाले नयाँ थपेको पाइपलाइनमार्फत वितरण हुनेछ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले २०५१ को मध्यावधि चुनावमा काठमाडौंको सडक मेलम्ची पानीले पखालिदिने वाचा गरेका थिए । २०५८/५९ मै सुरु मेलम्ची आयोजना २०६४/६५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । त्यसयता बनेका हरेक प्रधानमन्त्री र मन्त्रीले मेलम्ची पानी यसै वर्ष काठमाडौं आउने दाबी गर्दै आए पनि ढिलासुस्तीलगायत विभिन्न कारण आउन सकेको थिएन ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal