म्यान्मारमा सेनाको क्रुर दमन, एकै दिन ९० बढीको मृत्यु, सैन्य ‘कु’ यताकै मानव संहार

२०७७ चैत्र १५ गते, आईतवार

चैत १५, काठमाडौं । म्यानमारमा प्रदर्शन चर्किंदै जाँदा सेनाले निहत्था नागरिकमाथि दमन बढाएको छ। शनिबार एकै दिन देशभर ९१ जना प्रदर्शनकारी मारिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ। सेनाले सशस्त्र बल दिवसका अवसरमा शक्ति प्रदर्शन गरेपछि शनिबार सैन्य ‘कु’ यताकै खतरनाक र रक्तपातयुक्त दिन बनेको हो। सीएनएनले यसलाई सत्ता विप्लवपछिको सबैभन्दा रक्तपातपूर्ण घटना भनी टिप्पणी गरेको छ । राज्य नियन्त्रित टेलिभिजनले सैन्य दिवसका दिन प्रदर्शनमा उत्रनेहरूको टाउको र ढाडमा गोली चल्न सक्ने बताएको थियो । यस्तो चेतावनीको बाबजुद पनि सर्वसाधारण नागरिकहरू यांगुन, मान्डले र अन्य प्रमुख सहरमा सैन्य ‘कु’विरुद्ध प्रदर्शनमा उत्रिएका थिए । सोही प्रदर्शनमाथि नै क्रुर हमला भएको थियो ।

म्यानमारको नाउ न्युज पोर्टलले पनि सुरक्षाकर्मीको गोली लागेर शनिबार ९१ जनाको मृत्यु भएको पुष्टि गरेको छ । जसअनुसार मान्डलेमा पाँच वषीर्य बालकसहित २९ जनाको मृत्यु भएको छ । यांगुनमा मात्रै २४ जना मारिएका छन् । अन्य विभिन्न ठाउँमा पनि दर्जनौं नागरिक मारिएका छन् । तर, म्यानमारका सैनिक प्रवक्ताले भने सो हताहतीबारे कुनै टिप्पणी गरेका छैनन् । म्यानमारमा सेनाले सत्ता आफ्नो हातमा लिएयता भएका विभिन्न प्रदर्शनमा हालसम्म ४ सय सर्वसाधारणको ज्यान गइसकेको छ । सेनाका ‘स्नाइपर’ले प्रदर्शनकारीका टाउको ताकेरै गोली हानेका दृश्य सामाजिक सञ्जालमा व्याप्त छन्। मन्डलेका एक व्यक्तिले मंगलबार राति ट्विटरमा भिडियो राख्दै मेसिन गनको आवाज सुनिएको बताएका थिए।

सेनाले गरेको दमनप्रति अन्तर्राष्ट्रिय दबाब बढ्दो छ। युरोपेली संघ (ईयू) र अमेरिकाले सोमबार सैन्य कू र प्रदर्शनकारीको दमनमा संलग्न व्यक्तिहरूविरुद्ध प्रतिबन्ध लगाए। यसलाई अन्तर्राष्ट्रिय जगत्मा सुकीको निर्वाचित सरकारको सत्ता पल्टिएपछिको सबैभन्दा महŒवपूर्ण कदमका रूपमा हेरिएको छ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal