आज होली, सुरक्षा अपनाउन सरकारको आग्रह

चैत १५, काठमाडौं । आज रङहरुको पर्व होली हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाइँदैछ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने होली पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । यस पर्वका अवसरमा आज काठमाण्डौको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । चीरमा राखिएका ध्वजापताका औषधि उपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा फागु खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड(रक्सी जस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा गाडी समेतमा लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ ।
हिमाल र पहाडमा आज होली मनाइने भए पनि तराईंका जिल्लाहरुमा भने भोलि सोमबार भव्यताका साथ मनाइन्छ ।यो वर्ष कोरोनाको दोस्रो लहर सुरु हुनसक्ने भन्दै ठूलो भीडभाड नगर्न र स्वास्थ्य सावधानीका उपाय अपनाएर मात्रै रङ खेल्न सरकारले आग्रहसमेत गरेको छ ।