कम्पनी परिवर्तन गरेका नेपाली कामदार कोरिया जान पाउने

२०७७ चैत्र १५ गते, आईतवार

चैत १५, काठमाडौं । दक्षिण कोरियामा ईपीएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया जान पाउने भएका छन् । यसअघिको कानुनमा कम्पनी परिवर्तन नगरी एउटै कम्पनीमा लगातार चार वर्ष १० महिना काम गरेकाहरु मात्र दोस्रो कार्यकालका लागि प्रतिबद्ध कामदारका रूपमा कोरिया जान पाउँथे ।

नयाँ नियमानुसार कम्पनी सरे पनि केही निश्चित सर्त पूरा गरी कोरिया फेरि जान पाउने भएका हुन् । तर यो कानुन बुधवार संसद्बाट पारित भए पनि छ महिनापछि मात्र लागू हुने बताइएको छ । त्यस्तै सरुवा रोग फैलिएर वा प्राकृतिक प्रकोपका कारण कार्यावधि समाप्त भएर पनि स्वदेश फिर्ता जान नसक्ने र प्रवासी श्रमिक कोरिया प्रवेश गर्न नसकेको अवस्थामा कार्यकाल सकिएर पनि एक वर्षसम्म प्रवेशाज्ञा थप गर्न सकिने कानुन बनेको छ । प्रतिबद्ध कामदार स्वदेश फिर्ता भएपछि तीन महिनापछि मात्र आउन पाउने कानुन संशोधन भएर अब एक महिना पूरा गर्नासाथै जान पाउनेछन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal