काठमाण्डौ उपत्यकाकामा सुरक्षा व्यवस्था कडा : २ सय २३ वटा गाडी प्रहरी नियन्त्रणमा

२०७७ चैत्र १५ गते, आईतवार

चैत १५, काठमाडौं । होली पर्वलाई व्यवस्थित बनाउन काठमाण्डौ उपत्यकाका मुख्यमुख्य चोकमा प्रहरी खटिएका छन् । कोरोनाको जोखिम बढेकाले सार्वजनिक ठाउँमा भीडभाड हुन नदिन र जनस्वास्थ्यका मापदण्ड पालना गराउन ठुलो संख्यामा प्रहरी परिचालन गरीएको महानगरीय प्रहरी कार्यालय रानीपोखरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार होलीलाई व्यवस्थित बनाउन चोक चोकमा चेकप्वाइन्ट बनाएर सुरक्षा जाँच भइरहेको छ । यस्तै, होहल्ला गरी हिँड्नेलाई नियन्त्रणमा लिने सम्झाउने काम पनि भइरहेको छ । यस्तै, काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट ट्राफिक प्रहरीले २२३ वटा गाडी नियन्त्रणमा लिएर होल्ड गरेको छ । सडक अनुशासन पालना नगर्ने र हेलमेट नलगाउनेहरुलाई कारबाही थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मोटरसाइकल र स्कुटरमा दुई जनाभन्दा धेरै चढेका, हेलमेट नलगाएका र जथाभाबी हर्न बजाउनेहरुको गाडी होल्डमा राखिएको छ । होल्डमा रहेका गाडीलाई भरे बेलुका मात्रै छोडिने महाशाखाले जनाएको छ । आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ लगाएर फागु पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ लगाएर मनाउने परम्परा छ । केही वर्षयता फागु पर्व व्यवस्थित बन्न थालेको छ । फागुको अवसरमा आज काठमाण्डौ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा सार्वजनिक बिदा दिइएको छ । तराईका जिल्लामा भने भोलि फागु पर्व मनाइन्छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal