ठूलो संख्यामा युवाहरु बसन्तपुर पुगेपछि प्रहरीलाई रोक्न कठिन, बसन्तपुरमा धुमधामसंग होली

२०७७ चैत्र १५ गते, आईतवार

चैत १५, काठमाडौं । रङहरुको पर्व फागू पूर्णिमा आइतबार नेपालको आज रङहरुको पर्व होली हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाइएको छ । सार्वजनिक विदासमेत भएकाले मानिसहरु घरमै र समूहमा मिलेर फागू पूर्णिमा (होली पर्व) मनाइरहेका छन् । काठमाडौं उपत्यकामा धेरै मानिसहरु बसन्तपुर क्षेत्रमा होली खेल्न पुगेका छन् । हरेक वर्ष बसन्तपुरमा ठूलो समूहमा भेला भएर मानिसहरुले होली मनाउँछन् ।

तर यस वर्ष सरकारले कोरोना संक्रमणको जोखिम रहेकाले घरभित्रै होली खेल्न र सार्वजनिक ठाउँमा समूहमा होली नखेल्न आग्रह गरेपनि युवाहरु ठूलो संख्यामा बसन्तपुर पुगेर आपसमा रङ दलेर होली खेलिरहेका छन् । आइतबार विहान १० बजेपछि मानिसहरु बसन्तपुर क्षेत्रमा जान थालेका थिए । सुरुमा सानो समूह भएकाले प्रहरीले उनीहरुलाई भेला हुन र रङ खेल्न रोकेको थियो । तर पछि ठूलो समूह जम्मा भएपछि प्रहरीलाई पनि रोक्न कठिन भएको छ ।

होली पर्वलाई व्यवस्थित बनाउन काठमाण्डौ उपत्यकाका मुख्यमुख्य चोकमा प्रहरी खटिएका छन् । कोरोनाको जोखिम बढेकाले सार्वजनिक ठाउँमा भीडभाड हुन नदिन र जनस्वास्थ्यका मापदण्ड पालना गराउन ठुलो संख्यामा प्रहरी परिचालन गरीएको छ । कार्यालयका अनुसार होलीलाई व्यवस्थित बनाउन चोक चोकमा चेकप्वाइन्ट बनाएर सुरक्षा जाँच भइरहेको छ । यस्तै, होहल्ला गरी हिँड्नेलाई नियन्त्रणमा लिने सम्झाउने काम पनि भइरहेको छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ लगाएर मनाउने परम्परा छ । केही वर्षयता फागु पर्व व्यवस्थित बन्न थालेको छ । फागुको अवसरमा आज काठमाण्डौ उपत्यकासहित पहाडी र हिमाली जिल्लामा सार्वजनिक बिदा दिइएको छ । तराईका जिल्लामा भने भोलि फागु पर्व मनाइन्छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal