साढे ३ वर्षमा २ लाख कर्जा सुरक्षित कारोबार दर्तामा

२०७७ चैत्र १६ गते, सोमबार

चैत १६, काठमाडौं । शेयरबजारमा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा जस्ता अचल सम्पत्ति मात्रै धितो राखेर कर्जा लिनेबाहेक गाईबस्तु/घोडा, टिभी, फ्रिजजस्ता विद्युतीय साधन, सवारीसाधन, व्यवसायलगायत चल सम्पत्ति धितो राखेर कर्जा लिनेको संख्या पनि क्रमशः बढ्दै गएको छ । कर्जा सूचना केन्द्रका अनुसार हालसम्म यस्ता चल सम्पत्ति धितोमा कर्जा लिएका र सुरक्षित कारोबार दर्ता (सेक्युअर ट्रान्जेक्शन रजिस्ट्रेशन/एसटीआर) गरेको कर्जा संख्या २ लाख ४ हजार ४ सय ९८ पुगेको छ । केन्द्रका अनुसार उक्त कर्जाअन्तर्गत व्यक्तिगत कर्जातर्फ करीब १९ हजार ८ सय ७, कर्पोरेट कर्जातर्फ २७ हजार २ सय २, साना तथा मझौला उद्यमी (एसएमई) कर्जातर्फ लाख ४२ हजार ७ सय ३६, लघु (माइक्रो) तहको कर्जातर्फ ७ हजार ३ सय २० र महिलाहरूको नाममा रहेको ७ हजार ४ सय ३३ कर्जाको सुरक्षित कारोबार दर्ता गरिएको छ । दर्ता भएका कुल कर्जा संख्यामध्ये १३ हजार २३ ओटा कर्जाको चुक्ता अर्थात् टर्मिनेशन भइसकेको सूचना केन्द्रले जानकारी दिएको छ ।

सानिमा बैंकले मात्रै चालू आव शुरू भएदेखि हालसम्म करीब १ हजार ८ सय ऋणीको नाममा एसटीआरमा दर्ता गरिसकेको जानकारी दिएको छ । पछिल्लो समय चल सम्पत्तिका ग्राहकहरू पनि बढ्दै गएको र कर्जा जोखिमरहित होस् भनेर एसटीआरमा आबद्ध भएको सानिमा बैंकको कर्जा विभागको भनाइ छ । सरकारले विसं २०६३ मा ल्याएकोे ‘सुरक्षित कारोबार ऐन’ ले भने चल सम्पत्ति राखेर व्यक्ति, संस्था वा निकायबाट ऋण पाउन सक्ने बाटो खुला गरिदिएको थियो । ऐन आएको करीब ११ वर्षपछि अर्थात् विसं २०७४ देखि कर्जा सूचना केन्द्रले त्यस्ता संस्थामार्फत आएका कर्जाको सुरक्षित कारोबार दर्ता (एसटीआर) गर्ने अधिकार पाएको थियो । करीब साढे ३ वर्षमा केन्द्रमार्फत यस्तो एसटीआर बैंक तथा वित्तीय संस्थामा मात्र केन्द्रित रहेको छ । यद्यपि ऐनले कुनै संस्था वा कम्पनीका साथै व्यक्तिले पनि चल सम्पत्ति धितो लिएर वैधानिक रूपमा ऋण दिन पाउने व्यवस्था गरेको छ । त्यस्ता कर्जालाई केन्द्रमार्फत पनि सुरक्षित कारोबार दर्ता (एसटीआर) गरेर जोखिमरहित बनाउन सकिने व्यवस्था छ । यसको कार्यान्वयन भने फितलो भएको कर्जा सूचना केन्द्रले स्वीकार गरेको छ । यसबारे जनचेतना कमी भएको बताउँदै केन्द्रले आगामी दिनमा जनचेतना वृद्धि गर्नुपर्ने बताएको छ ।

केन्द्रका चिफ अपरेशन अफिसर (सीओओ) ओमकार श्रेष्ठका अनुसार एसटीआरको सुविधा अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले मात्र लिएका छन् । सर्वसाधारणमार्फत चल सम्पत्ति धितोमा लेनदेन भएको कर्जामा पनि एसटीआर हुन्छ भनेर जानकारी छैन । ‘यसबारे ठाउँठाउँमा काउन्सलिङ, तालीमहरू गर्नुपर्ने हो तर यस्तो गर्न हामीसँग स्रोतको अभाव छ,’ उनले भने, ‘हामीसँग बैंक तथा वित्तीय संस्थाहरू सदस्य भएका कारणले कर्जा सूचनाले तालीम दिएका बेला एसटीआरको तालीम दियौं । यसो गर्न गाह्रो भएन तर बाहिरका क्षेत्रमा यसबारे चेतना जगाउन सम्बद्ध ठाउँमा जान आउन, कार्यक्रमलगायतको खर्च बेहोर्न हामीसँग स्रोत छैन ।’

कसैलाई चल सम्पत्तिको धितोमा ऋण दिइयो । तर, एसटीआर गरिएन भने सोही व्यक्तिले त्यही एउटै सम्पत्ति धितो राखेर अर्कोसँग ऋण लिन सक्छ । यस्तो ऋण नतिरेको खण्डमा धितो सकार वा लीलामीमा कर्जादाताको हक दिलाउने काम कर्जा सूचना केन्द्रले गर्छ । ‘गाडी, टिभी, फ्रिज, अन्न भण्डार, कुनै व्यवसाय तथा परियोजनालगायत जुनसुकै चल सम्पत्ति धितोको कर्जामा एसटीआर गरेर व्यक्ति वा संस्थाले ऋण दिन सक्छ,’ सीओओ श्रेष्ठले भने । एउटै चल सम्पत्ति ३–४ ठाउँमा धितो राखेर ऋण लियो तर उसले ऋण तिर्न सकेन भने त्यो धितोमा पहिलो हक कर्जा सूचना केन्द्रमा शुरूमा सुरक्षित कारोबारका लागि दर्ता गरेको संस्थाको लाग्छ । यसपछि बाँकी अर्को संस्थाले दर्ता गरेको छ भने पाउँछ । यसक्रमअनुसार केन्द्रले धितोबाट सकार तथा लीलामबाट कर्जा असुल उपर गरिदिन्छ । यसरी एसटीआरमा दर्ता भएको कर्जा असुल्ने क्रममा मुद्दा परेमा पहिला कुन बैंकले एसटीआर गरेको त्यहीअनुसार लिन पाउने गरी अदालतले निर्णय गरिदिन्छ ।

पछिल्लो समय अन्न भण्डार, सवारी साधन, विद्युतीय साधनजस्ता अचल सम्पत्ति धितो राखी बैंकहरूले दिएको कर्जालाई एसटीआर गर्न आइरहेको उनको भनाइ छ । ऐनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले यस्तो सम्पत्ति धितोको प्रति एसटीआर रू। ५ सय तिर्नुपर्ने छ । यति तिरेपछि ५ वर्षको लागि ढुक्क हुन्छ । ऋणीले ऋण तिरेपछि भने धितो जमानी लिने व्यक्ति, संस्था वा निकायले धितो फुक्का गरिदिनुपर्छ । यसबीच कर्जा सेटलमेन्ट भएपछि भने दर्ता हटाउन पनि ऋणदाता बैंकले सेवाशुल्कबापत रू। ५ सय फेरि तिर्नुपर्ने केन्द्रले बताएको छ । यो समाचार आजको आथि दैनिकमा प्रकाशित छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal