फागुमा मापदण्ड अवलम्बन गरिएन, कोरोना बढ्ने त्रास

२०७७ चैत्र १६ गते, सोमबार

चैत १६, काठमाडौं । कोरोना सङ्क्रमणको दोस्रो लहर आउनसक्ने भन्दै स्वास्थ्य मापदण्ड अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरे पनि फागुको अवसरमा आइतबार मापदण्ड अवलम्बन गरेको पाइएन । फागु मनाउने क्रममा काठमाडौंका वसन्तपुर, नयाँ बानेश्वर, चाबहिल, भक्तपुर लगायतका क्षेत्रमा भीडभाड भएपछि सम्बन्धित निकाय र विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य मापदण्ड अपनाउन गरिएको आग्रहलाई बेवास्ता गर्दै फागु खेलिएकाले कोरोना सङ्क्रमण बढ्ने चेतावनी विशेषज्ञले दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भोलिका दिनमा कोरोना सङ्क्रमित बढ्न सक्ने चेतावनी दिए । डा. अधिकारीले भारतमा दोस्रो लहर देखिएको भन्दै नेपाल पनि त्यत्तिकै जोखिममा रहेको जानकारी दिए । उनले भारतसँग नेपालको खुला सीमा रहेकाले पनि मानिस सामान्य रूपमा आवतजावत गर्नसक्ने भन्दै नेपाल कोरोनाको उच्च जोखिममा रहेको जानकारी गराए।
डा. अधिकारीले भने, “पछिल्ला दिनमा ५० को सङ्ख्यामा देखिएको कोरोना बढेर १८० सम्म पुगेको छ, भोलिका दिनमा दैनिक एक हजारसम्म पुग्न सक्छ, त्यसैले सचेत हुनु जरुरी छ ।” डा. अधिकारीले स्वास्थ्य मन्त्रालयले चाडपर्वका नाममा भीडभाड नगर्न आग्रह गर्ने तर त्यसको नियमक निकाय गृह प्रशासन भएकाले भीडभाड नियन्त्रण गर्ने जिम्मा स्वास्थ्य मन्त्रालयको नभएको जानकारी गराए।


वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले होलीका नाममा भएको भीडभाडले सङ्क्रमण बढ्न सक्ने खतराका रूपमा देखापर्ने बताए। डा. पुनले सुपर स्पे्रडर (धेरै व्यक्तिलाई सङ्क्रमित गराउन सक्ने व्यक्ति) उक्त होलीको कार्यक्रममा भएको भए त्यसले अन्य सयौँ व्यक्तिलाई कोरोना फैलाउन सक्ने सम्भावना रहेको जानकारी दिए। सरुवा रोग विशेषज्ञ डा. पुनले भारतमा दैनिक ६० हजारभन्दा बढी सङ्क्रमित देखिनुमा सुपर स्प्रेडरको हात रहेको भन्दै भारतमा दोस्रो लहर आएको दाबी गरे। नेपालमा अहिले नै दोस्रो लहर भन्न मिल्ने अवस्था नरहेको दाबी गर्दै भोलिका दिनमा कोरोनाको दोस्रो लहर आउन सक्ने चेतावनी दिए।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिनहुँ कोरोना सङ्क्रमण बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमण बढ्दै जाँदा थप चिन्ता भएको भन्दै मानिसले कोरोना सङ्क्रमणलााई सामान्य रूपमा लिनु उचित नभएको बताए। डा. गौतमले पछिल्लो समय शिक्षण संस्था सङ्क्रमणको हटस्पट बन्दै गएको बताए। उनले कोरोना सङ्क्रमण भई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अधिकांश कलेजमा पढाउने शिक्षक र होटलमा काम गर्ने कर्मचारी र तराईबाट रिफर गरी पठाइएका बिरामी रहेको जानकारी दिए। गौतमले ‘धेरै शैक्षिक संस्थामा अनिवार्य मास्कको लगाउने, हात धुने तथा सामाजिक दूरी कायम गर्ने काम नभएकाले समस्या भएको बताए। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal