प्रदूषणले वायुमण्डल धुम्म भएपछि देशभरको तापमान घट्यो

२०७७ चैत्र १७ गते, मंगलवार

चैत १७, काठमाडौं । प्रदूषणका कारण वायुमण्डल धुम्म भएपछि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अत्यधिक प्रदूषणबाट वायुमण्डल ढाकिएकाले सूर्यको किरण र ताप धर्तीमा आउन सकेको छैन । सूर्यको ताप आइनपुगेका कारण तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताए ।

काठमाडौँमा २९ डिग्री सेल्सियससम्म पुगिसकेको तापक्रम अहिले घटेर अधिकतम २४ डिग्री सेल्सियस र न्यूनतम १०.८ डिग्री सेल्सियसमा झरेपछि चिसो बढेको जानकारी उहाँले दिनुभयो । मौसमविद् पौडेलले भने, “पानी पर्ने छेकछन्द छैन, त्यसैले तापक्रम अझै घट्न सक्छ ।” पूर्वानुमान महाशाखाका अनुसार सोमबार जुम्लाको अधिकतम तापक्रम २१.९ र न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस पुगेको छ । एक साताअघि ३८ डिग्री सेल्सियस नाघेको नेपालगञ्जको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस आसपासमा झरेको छ । गर्मी हुने भैरहवा, सिमरा र विराटनगरको तापक्रम ३४ डिग्री सेल्सियसकै आसपास छ । पहाडी जिल्ला ताप्लेजुङ, ओखलढुङ्गा, डडेल्धुरालगायतका क्षेत्रमा अधिकतम तापक्रम २२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको छ ।

सोमबारदेखि हावाको बहाव केही बढेकाले ‘भिजिबिलिटी’ सामान्य बढेको छ । सोमबार मध्याह्न आकाश खुलेर थोरै घाम देखिँदा काठमाडौँ आसपास एक हजार पाँच सय ‘भिजिबिलिटी’ कायम भएको थियो । तर, साँझ पर्दै जाँदा तुवाँलो बाक्लिँदै गएको थियो । पौडेलले भने, “पानी नपरे पनि हावा राम्ररी चलेको खण्डमा वायु प्रदूषणमा थोरै कमी आउने सम्भावना छ । कतैकतै फाट्टफुट्ट पानी पर्ने सङ्केत रहे पनि बलियो प्रणाली छैन ।” यो समाचार आजको गारखापत्र दैनिकमा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal