सर्वोच्चले फैसला सच्याउने विश्वास छ : पुष्पकमल दाहाल

चैत १७, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र अलग हुन सर्वोच्च अदालतले गरेको फैसला सच्याउने विश्वास व्यक्त गरेका छन। मंगलबार फैसला सच्चाउन माग गर्दै पुनरावलोकनको निवेदन लिएर सर्वोच्च पुगेका दाहालले भने, ‘एकतावद्ध भइसकेका दललाई विभाजित गर्ने राजनीतिक काम अदालतले गर्यो, त्यो सच्याउनेछ ।’ अदालतको उक्त फैसला अस्वाभाविक, अप्राकृतिक र राजनीतिक प्रकृतिको थिया, ‘दाहालले भने, ‘मलाई र हामीलाई के विश्वास छ भने सर्वोच्च अदालतले विगतमा पनि गरेका फैसलामा टिप्पणी भयो र पुनरावलोनको प्रश्न उठ्यो भने पुनरावलोकन गर्ने गरेको छ ।’ रिट निवेदकले पार्टी एकता टुटोस् भन्ने नचाहेको, नाम मात्र करेक्सन होस् भन्ने चाहना थियो भन्दै दाहालले सर्वोच्चले फैसला पुनरावलोकन गर्ने र त्यो ढिलो पनि नहुने विश्वास व्यक्त गरे।
निवेदन दर्ता गराउन अध्यक्ष दाहालका समथमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुषाल, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, मातृका यादवलगायत सर्वोच्च पुगेका थिए । नेकपाको नामसम्बन्धि विवादमा परेको मुद्दा गत फागुन २३ गते छिन्ने क्रममा सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकतासमेत अस्वीकृत गर्दै दुबै पार्टी अलग हुने फैसला सुनाएको थियो ।