दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा समेत वृद्धि

२०७७ चैत्र १७ गते, मंगलवार

चैत १७, काठमाडौं । पछिल्लो दुई दिन निरन्तर घटेको बजार मंगलवार दोहोरो अंकले बढेको छ । हिजो सोमबार ५ दशमलव ४५ अंकले घटेको नेप्से परिसूचक मंगलवार ३२ दशमलव १५ अंकले बढेको हो ।मंगलवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । मंगलवार भने रू ६ अर्ब १८ करोड ५६ लाख ७९ हजार बराबरको १ करोड २२ लाख ९ हजार ९७६ कित्ता शेयर कारोबार भएको हो । यसदिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको हो । उक्त कम्पनीको रू। ४८ करोड ९४ हजार बराबरको शेयर कारोबार भएको हो ।

मंगलवार कारोबारमा आएका १३ ओटा समूहमध्ये व्यापारिक समूहको शून्य दशमलव ६८ प्रतिशत परिसूचक घटेको छ भने उत्पादन तथा प्रशोधनको स्थिर रहेको छ । जलविद्युत् समूहको परिसूचक सर्वाधिक ४ दशमलव १४ प्रतिशत बढेको बजारमा बैंकिङ्को शून्य दशमलव ४९ प्रतिशत, होटल्स तथा पर्यटनको ३ दशमलव २५ प्रतिशत, विकास बैंकको शून्य दशमलव ३१ प्रतिशत, वित्त समूहको शून्य दशमलव २ प्रतिशत, निर्जीवन बीमा समूहको ३ दशमलव शून्य ८ प्रतिशत परिसूचक बढेको छ ।

त्यसैगरी अन्यको शून्य दशमलव ५५ प्रतिशत, लघुवित्तको ३ दशमलव २ प्रतिशत, जीवन बीमाको १ दशमलव शून्य ९ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव ३५ प्रतिशत र लगानी समूहको शून्य दशमलव ३६ प्रतिशत परिसूचक बढेको छ । यसदिन आधा दर्जन कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । दोहोरो अंकले बढेको बजारमा युनाइटेड इदी मर्दीको शेयरमूल्य सर्वाधिक ५ दशमलव ३३ प्रतिशत घटेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal