५०१ नम्बरबाट शुरु भयो नागरिक स्टक डिलरको शेयर कारोबार

२०७७ चैत्र १७ गते, मंगलवार

चैत १७, काठमाडौं । नागरिक स्टक डिलरले धितोपत्र बजारको दोस्र्रो बजारमा शेयर कारोबार शुरु गरेको छ । सोमबारबाट नागरिक स्टक डिलरले दोस्रो बजारमा शेयर कारोबार शुरु गरेको नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले बताए । ‘हिजो सोमबारबाट हामीले कारोबार शुरु गरेका हौं,’ उनले भने ‘ अहिले ट्रायल हो, केही समयपछिमात्रै कारोबारका विषयमा भन्न सकिन्छ ।’ केही समयअघिदेखि कारोबार शुरु गरेको नागरिक स्टक डिलरले हिजो सोमबारबाट औपचारिक शुभारम्भ गरिएको हो।

सोमबारदेखि कारोबार हुन थालेको नयाँ ब्रोकर ५०१ नम्बर नागरिक स्टक डिलर रहेको नेपाल स्टक एक्चेन्जले जनाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीलाई कारोबार गर्न माघ ९ गतेनै अनुमति दिएको थियो। दोस्रो शेयर बजारमा कारोबार गर्नको लागि नेपाल स्टक एक्चेन्ज (नेप्से) ले केही साता अघि नै नागरिक स्टक डिलरलाई सदस्यता दिएको हो ।

नागरिक स्टक डिलरमा कम्पनीमा नागरिक लगानी कोष, राष्ट्रिय पुर्नबीमा कम्पनी लिमिटेड र नेपाल टेलिकमको संयुक्त लगानी रहने छ । कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ । ३० प्रतिशत लगानी भने सर्वसाधारणका लागि छुट्याइएको छ ।

स्टल डिलरले धितोपत्र बजारमा अस्वस्थ प्रतिस्पर्धा हुन नदिनुका साथै माग र आपूर्तिबीचको सन्तुलन समेत कायम गर्ने अपेक्षा गरिएको छ । स्टक डिलरको माध्यमबाट ‘बल्क’मा शेयर खरिद बिक्री गर्न सकिनेछ । स्टक डिलरले अस्वभाविक रुपमा बढ्ने र घट्ने शेयर बजारलाई सन्तुलनमा ल्याउने विश्वास सरोकारवालाहरूले लिएका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal