बिहारको सीतामढीमा भेटिए महोत्तरीबाट बेपत्ता सात किशोरी र बालिका, प्रहरीको टोली भारततर्फ

२०७७ चैत्र १८ गते, बुधबार

चैत १८, काठमाडौं । मंगलबार दिउँसोदेखि बेपत्ता भएका महोत्तरी, भंगाहाका ७ किशोरी तथा बालिका भारत, विहारको सीतामढी पुगेको पाइएको छ । सामाजिक अभियन्ता सरोज रायले फेसबुकमा पोस्ट मार्फत सातै बालिका लाई विहारको सीतामढी रेल्वे प्रहरीले हिजो राती नै सुरक्षित उद्धार गरेको र आफ्नो निगरानीमा राखेको जानकारी गराएका हुन । हराएका सात बालिका सुरक्षित फेला परेपछि नेपाल प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

मंगलबार दिउँसो २ बजे घाँस काट्न भनी गएका किशोरीहरू घर फर्किएका थिएनन। बेपत्ता हुनेमा भंगाहा नगरपालिका–८ धर्मपुरका १८ वर्षका अस्मिता पासवान र नागिना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षका अर्चना पासवान र रिया पासवान, १० वर्षका रञ्जना पासवान र सीमा पासवान छन् ।

सम्बन्धित परिवारलाई भने उनीहरू कहाँ गए भन्ने जानकारी नै नभएको बेपत्तामध्ये एक किशोरीका काका मनोज पासवानले बताए ।
साँझ ७ बजेसम्म किशोरीहरू घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । भंगाहा प्रहरी चौकी सीतापुर, लोहरपट्टी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक राजेश घिमिरे नेतृत्वको टोलीले रातभर किशोरीहरूको खोजी गरेको थियो । प्रहरी र स्थानीयले मिलेर रातभर खोजी गरेका थिए । भारतीय प्रहरीले यी बालिकाहरू गायक बन्न भारत लागेको बताइएको छ । उनीहरुसँग अन्य पनि थिए कि भन्नबारेमा अनुसन्धान भइरहेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal