कोरोना सङ्क्रमण बढेपछि फ्रान्समा लकडाउन, स्कुल समेत बन्द

२०७७ चैत्र १९ गते, बिहीबार

चैत १९, काठमाडौं । फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि चार हप्ताका लागि लकडाउन गरिएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोले पर्सि शनिवारदेखि चार हप्ता लकडाउनको घोषणा गरेका हुन। राष्ट्रपति म्याक्रोले एक टेलिभिजनमा सम्बोधन गर्दै लकडाउनको अवधिमा अत्यावश्यक वस्तुका पसल खुला रहने तर तीन हप्तासम्म स्कुल भने बन्द हुने बताएका बीबीसीले जनाएको छ ।

लकडाउनको अवधिभर मानिसले घरमै बसेर काम गर्नु पर्नेछ । सार्वजनिक ठाउँमा सभा, भेला गर्न पाइने छैन भने घरबाट १० किलोमिटर भन्दा टाढा जान पनि नपाइने खबरमा उल्लेख गरिएको छ । फ्रान्समा गएको २४ घण्टामा ४१ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । अहिलेसम्म फ्रान्समा ४६ लाख ४४ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने ९५ हजारभन्दा धेरै ज्यान गएको छ । विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशको सूचीमा फ्रान्स चौथो स्थानमा छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal